गृह जिल्लामा प्रधान न्यायाधीश राउत सम्मानित
उदयपुर । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई गृह जिल्ला उदयपुरमा सम्मान गरिएको छ ।

आइतबार जिल्ला सदरमुकाम गाईघाटमा जिल्ला समन्वय समितिको आयोजनामा जिल्लाका सात पालिकाले प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित जिल्लाबाट राज्यको उच्च ओहदामा पुग्न सफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौला र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई एक साथ सम्मान गरेको हो ।
उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझी, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुख तथा उपप्रमुख, पूर्व जनप्रतिनिधिहरू सहितको उपस्थितिमा प्रधान न्यायाधीश राउत सहित द्वय सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक राईलाई एक साथ सम्मान गरिएको हो ।
त्यस अवसरमा प्रधान न्यायाधीश राउतले आफूले नेतृत्व गरेको न्यायालयले विधिको शासन भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूले कसैले औँला उठाउने गरी न्याय सम्पादन नगर्ने समेत जिकिर गर्नुभयो । न्यायिक सुधार र न्यायिक सुशासन दुई वटा एजेन्डामा रहेर आफूले काम गर्न लागेको समेत उहाँले बताउनुभयो ।
चार दिन अघि गृह जिल्ला उदयपुर आउनुभएका प्रधान न्यायाधीश राउत आजै काठमाडौँ फर्कनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्