तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप : नवलपरासी सेमिफाइनलमा प्रवेश

बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्गत आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा राइजिङ स्टार फुटबल क्लब नवलपरासी ले भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरे पनि कुनै पनि गोल गर्न सकेनन्। पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल पेनाल्टी सुट आउटमा पुगेको थियो।

पेनाल्टीमा राइजिङ स्टार फुटबल क्लब भाग्यमानी सावित भयो, जसमा गोलकिपर प्रतीक सुनार को उत्कृष्ट प्रदर्शन मुख्य कारण बन्यो। उहाँले साहारा फुटबल क्लबका तीन पेनाल्टी रोक्दै आफ्नो टोलीलाई जित दिलाउनुभयो।

राइजिङ स्टार फुटबल क्लबका गोलकिपर प्रतीक सुनार म्यान अफ द म्याच घोषित हुनुभयो। उहाँले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो। उहाँलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मणराज पौडेलले पुरस्कार प्रदान गर्नुभयो। सुनारले आफ्नो टोलीलाई जिताउन भूमिका खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो।

गोल्डकपको पहिलो दिन सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

गोल्डकपको तेस्रो दिन सोमबार दिउँसो ३:०० बजे कोहलपुरस्थित तेह्र बिगाहा खेलमैदानमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँ र राइनो फुटबल क्लब, गण्डकीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपाल, भारत र अफ्रिकी देश घाना गरी आठ टोलीको सहभागिता रहेको छ ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button