‘सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुन्छ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले देशका सबै जातजाति, भाषा, धर्म संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुने बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको आयोजनामा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, जातजातिको संरक्षणले नै पहिचान स्थापित हुने र बलियो राष्ट्र हुने बताउनुभयो ।
कोशी प्रदेशभित्र रहेका विभिन्न जातजाति धर्म संस्कृतिलाई संरक्षण गर्न नीति बनाउनेतर्फ सरकार लागिरहेको जानकारी दिँदै उहाँले भाषा आयोगले सिफारिस गरेको लिम्बु र मैथिली भाषालाई यो प्रदेशमा पहिलो चरणमा स्थापित गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।
टेलिभिजन र रेडियो नेपालले किशोर अवस्थाका बालबालिकालाई लक्षित गरेर कार्यक्रम बनाउन सके सुसंस्कृत र योग्य नागरिक तयार हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसतर्फ कार्यक्रम गरेर समाजलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सहकार्यका माध्यमबाट यहाँको भाषा संस्कृतिको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालकाका अध्यक्ष डा. महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै यसका लागि आवश्यक तयारी गरेर प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातजाति, भाषा संस्कृतिको आवाजलाई मुखरित गर्नुपर्ने खालका कार्यक्रम उत्पादन एवं प्रसारणमा रेडियो नेपाल लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपाल सञ्चालक समितिका सदस्य डा भूमिराज चापागाईँले संस्कृतिको प्रवर्द्धन आफ्नो घरबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रेडियो नेपाल योजना विकास विस्तार महाशाखा प्रमुख एवं सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले विराटनगरस्थित तारिणिप्रसाद कोइराला स्मृति सञ्चार ग्रामले उद्देश्य अनुसार आफ्नो गतिविधि गर्दै आएको बताउनुभयो ।

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई बढी भन्दा बढी जनताले रुचाउने खालको कार्यक्रमको प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो । सो अवरमा उहाँले रेडियो नेपालको प्रसारण सेवाबारे कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर कार्यालयका प्रमुख सूर्य नारायण कर्णले सञ्चार ग्रामले सबै जातजाति, भाषाभाषीहरुको भावनालाई सम्बोधन हुने गरी कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारहरूलाई दक्ष र योग्य बनाउँदै समावेशीकरणको विषयलाई अगाडि बढाउनुपर्ने जोड दिनुभयो ।
यस अघि विराटनगर स्थित सञ्चार ग्राममा तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा सञ्चालक समितिको बैठक समेत बसेको थियो ।
बैठकमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार ग्रामको ऐतिहासिक महत्व रहेकाले यसको भवन तथा संरचनालाई बहुउपयोगी बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्