तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालको वर्गीकरण गरी सेवा निर्धारण गर्नुपर्छ : मन्त्री पौडेल 

इलाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको वर्गीकरण गरेर कुन अस्पतालले कस्तो सेवा दिने भन्ने कुराको निर्धारण गर्नुपर्ने बताउनुभएको छ । 

इलामको सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले पालिका तहका अस्पतालहरूलाई पूर्वाधार जनशक्ति  उपकरण र औषधीसहित ४ प्रकारले सम्पन्न बनाउन जरुरी रहेको बताउनुभयो । 

सूर्योदय नगरपालिकाका  प्रमुख रण बहादुर राईको अध्यक्षता तथा मन्त्री पौडेलको प्रमुख आथित्थ्यतामा भएको कार्यक्रममा उहाँले अहिलेकै अवस्थामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन कठिन रहेको बताउनुभयो । उहाँले  ३ तहको सरकारले नागरिकको स्वास्थ्य क्षेत्रमा खर्च गरेको रकम ३१ अर्ब रहेको त्यसमा सरकारले साँढे ७ अर्ब वार्षिक रुपमा बिमामा मात्रै खर्च गरिरहेको बताउनुभयो । 

सबै वर्गलाई ३५ सयमा बिमा गर्ने व्यवस्था नगरेर आम्दानीको १.५ प्रतिशत लगानी गर्ने प्रावधान ल्याउन जरुरी रहेको भन्दै उहाँले यसो गरे सम्पन्नले त्यही अनुसार बिमा शुल्क तिर्नुपर्ने र विपन्नले त्यही अनुसार बिमा शुल्क तिर्नुपर्ने जसले गर्दा बिमाको लागि आवश्यक रकम जुटाउन सहज हुने उहाँको भनाई छ । 

प्रधानमन्त्री केपी ओलीले २०७४ मा ३ सय ९६ अस्पताल शिलान्यास गरेको र हालसम्म ५७ वटा अस्पताल बनेको बताउँदै मन्त्री पौडेलले अस्पताल भवन बनाउन भन्दा पनि बढी त्यहाँ आवश्यक उपकरण जडान गर्न बजेट लाग्ने र जनशक्ति परिपूर्ति गर्न त्यो भन्दा पनि कठिन रहेको बताउनुहुँदै पालिकामा रहेका आधारभूत अस्पतालबाट दिइने सेवालाई पुनर्परिभाषित गर्न जरुरी रहेको बताउनुभयो । 

सूर्योदय नगरपालिकामा बन्दै गरेको अस्पतालको अवलोकन गर्दै मन्त्री पौडेलले देशमै अब्बल रुपमा काम गरिरहेको सूर्योदय नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरपालिकाको स्वास्थ्य  क्षेत्रलाई लगायतको विभिन्न पक्षबारे जानकारी दिनुहुँदै मन्त्री पौडेलबाट नगरपालिकाले सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button