तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सञ्चार माध्यमका सामग्री व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक हुनुपर्नेमा जोड

काठमाडौँ । आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिने क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र राष्ट्रिय समाचार समितिको व्यवस्थापनमा आज आयोजित क्षमता विकास कार्यक्रममा मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले अभिमुखीकरण कार्यक्रमले व्यावसायिक पत्रकारितामा निखार ल्याउन सहयोग पुर्‍याउने बताउनुभयो ।

सहसचिव ठाकुरले मन्त्रालयले नीति बनाउने र कार्यान्वयन गर्ने भए पनि पत्रकारको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएर अभिमुखीकरणका योजना अगाडी बढाइएको र अगामी दिनमा यसलाई निरन्तरता दिइने बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय नेपाली मिडियामा खोजमूलक र व्यावसायिक पत्रकारिताको अभाव खड्किएको सन्दर्भमा यसको उच्चतम अभ्यास गर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । 

खोज पत्रकारिता केन्द्रका संस्थापक अध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार राजेन्द्र दाहालले सरकारी सञ्चार माध्यमहरूले घटनामा मात्रै केन्द्रित नरहेर विषयवस्तुमा आधारित खोजमूलक सामग्री प्रकाशन तथा प्रसारणमा पनि काम गर्नुपर्ने बताउनुभयो ।  

सञ्चार मन्त्रालयले वार्षिक रुपमा गर्ने कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा सार्वजनिक प्रसारण संस्थामा कार्यरत पत्रकारहरूको सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा रासस, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल, प्रेस काउन्सिल नेपाल लगायत संस्थाका ४० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button