तपाईँ सुन्दै हुनुहुन्छः

पातिहाल्नेमा हिमपातसँगै आन्तरिक पर्यटकको घुइँचो(तस्बिरहरू)

बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तर्गत बागलुङ र रुकुम (पूर्व) को सीमाना पातिहाल्ने क्षेत्रमा हिमपातसँगै आन्तरिक पर्यटनमा वृद्धि भएको छ । 

बाक्लो हिमपातका कारण शुक्रवार र शनिवार मध्यपहाडि लोकमार्ग नै अवरुद्ध भएको सो स्थानमा आइतवारदेखि सवारी आवागमन भने सञ्चालनमा आएको छ ।

प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण रहेको उक्त स्थानमा हिमपातसँगै रमाउन बागलुङ, रुकुम, गुल्मीलगायतका क्षेत्रबाट आन्तरिक पर्यटकको भीड लागेको छ । यहाँ हिउँ हेर्न शनिवार बुर्तिवाङ अस्पतालको टिम नै पातिहाल्ने क्षेत्र पुगेको थियो । पातिहाल्ने क्षेत्रमा हिउँ खेल्दै गर्नुभएका डा. सङ्घर्ष घिमिरेले भन्नुभयो– “पहिलो पटक हिउँ हेर्ने मौका मिल्यो, धेरै रमाइलो भयाे ।”

हिउँ परेसँगै पर्यटकको घुइँचो लाग्दा यहाँ व्यवसायीलाई अहिले भ्याइनभ्याई भएको छ । पातिहाल्नेमा दुई वटा होटल छन् । होटल सञ्चालक कुशल घर्तिले भन्नुभयो – “गाडी रोकिँदा त सबैलाई सुताउन सकिएन, अन्य दिनका पर्यटकलाई भोकै बस्नुपरेको छैन । निकै चहलपहल छ, राम्रो व्यापार भएको छ ।”

रुद्रावती बहुमुखी क्याम्पस, गुल्मीबाट विद्यार्थीहरूको टिम नै हिउँ खेल्न पातिहाल्ने पुगेको थियो । क्याम्पसका स्ववियू सभापति अनिष पाठकले हिउँ नपरेको बेला पनि रमणीय ठाउँ भएको र हिउँ पर्दा झनै राम्रो भएकोले समूह नै हिउँ खेल्न आएको बताउनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रहेको सो क्षेत्रमा खर्वाङबाट हिउँ खेल्न पुग्नुभएकी एञ्जल बस्नेतले निकै रमाइलो भएको अनुभव सुनाउनुभयो ।

पातिहाल्नेसँगै रोल्पाको तिलाचन ताल, बागलुङको निसिखोलामा पर्ने रिगा तालमा पनि पर्यटक पुग्ने गरेका छन् । स्काभेटरको प्रयोग गरेर सडकको हिउँ हटाए पनि अन्य स्थानमा फागुन महिनाभर हिउँ रहने स्थानीयले बताएका छन् । यहाँ ढकमक्क गुराँस समेत फुलेकोले जेठ सम्मै पर्यटकको घुइँचो लाग्ने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button