तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयले जग्गा उपलब्ध गराएपछि बन्यो गाउँघर क्लिनिक

भोजपुर । स्थानीयलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यका साथ भोजपुर नगरपालिका वडा नम्बर आठ, पोखरेमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । स्थानीयले जग्गा उपलब्ध गराएपछि वडा कार्यालयको सहयोगमा क्लिनिक सञ्चालनमा आएको हो । 

केही सार्वजनिक जग्गा भए पनि अरू थप जग्गा स्थानीय जयकुमारी कार्कीले उपलब्ध गराउनु भएको थियो । उहाँले गाउँघर क्लिनिकका लागि एक आना बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । वडा कार्यालयले गाउँघर क्लिनिक निर्माणका लागि दुई लाख ५० हजार बिनियोजन गरेको थियो । महिला स्वयम सेविका समेत रहनु भएकी जग्गादाता कार्कीले भन्नुभयो, “क्लिनिक स्थापना भएपछि स्वास्थ्य सेवाको पहुँचमा वृद्धि हुने र स्वास्थ्यसम्बन्धी समस्या पनि समाधान हुने भएकाले मैले जग्गा उपलब्ध गराएको हुँ ।” 

आधारभूत स्वास्थ्य सेवा केन्द्र दुम्सीका अन्तर्गत गाउँघर क्लिनिक सञ्चालन हुने सेवा केन्द्र प्रमुख मणिकला प्रधानले बताउनुभयो । उहाँका अनुसार प्रत्येक महिना गाउँघर क्लिनिक सञ्चालनमा आउने छ ।

स्थानीयको स्वास्थ्यका लागि सञ्चालन भएको गाउँघर क्लिनिक पनि एउटा बिकास भएकाले स्वास्थ्य सेवा पनि प्रभावकारी हुन आवश्यक रहेको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । 

निर्माण भएको गाउँघर क्लिनिकको आइतबार औपचारिक उद्घाटन समेत गरिएको छ भने दुई लाख बरावरको जग्गा निःशुल्क उपलब्ध गराउनु हुने जग्गादाता र उहाँको परिवारलाई सम्मान समेत गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button