तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासनबिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासनबिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहले राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आयोजना आज जनकपुरधाममा सम्पन्न भएको राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा नै केही गरेर देखाउने किसिमको नीति कार्यान्वयन गरेर विदेशिने युवाहरूलाई मुलुककै उन्नति एवं प्रगतिमा लगाउन सकिए मुलुकलाई समृद्ध बनाउन समय नलाग्ने बताउनुभयो ।  

उहाँले प्रदेशमा सुशासन तथा दिगो विकासको लक्ष्य पुरा गर्नका लागि प्रदेश सरकार चाहे पनि प्रदेशसँग आफ्नो प्रहरी, निर्णय तहको निजामती कर्मचारी तथा उचित बजेट नभएको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले सुशासनको अभाव भएको खण्डमा कुनै पनि लक्ष्य पुरा गर्न कठिन हुने भएकाले सुशासनका लागि नै प्रदेश स्तरमा कार्यक्रम गरेको बताउनुभयो । 

राष्ट्रिय सभाका सो समितिका सदस्य डा. अन्जान शाक्यले सुशासन तथा दिगो विकासको लक्ष्य पुरा गर्न संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले मधेश प्रदेशको बजेटलाई दिगो विकासका लक्ष्य पुरा गर्न सहयोग पुग्ने किसिमले परिचालन गर्ने काम भएको दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button