तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश धार्मिक पर्यटनको केन्द्र हो : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उहाँले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ,’उहाँले भन्नुभयो–‘देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।’ मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिनुभयो । 

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राख्नुभयो । गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिनुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायतले धारणा राख्नुभएको थियो । समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरि खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button