कार्यविधि नहुँदा बँदेल र बङ्गुर क्रस योजना अलपत्र
धनकुटा । राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ ले नस्ल सुधारको लागि स्थानीय तथा जङ्गली जात बिच क्रस गराउने बाटो खुल्ला गरेको छ ।
भिडियो रिपोर्ट:
तर नीति जारी भएको तिन वर्ष बित्न लाग्दा पनि कार्यविधि नबन्दा बँदेल र बङ्गुर बिच क्रस गराउने अनुसन्धान हुन सकेको छैन ।
सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ को दफा १० उपदफा ७ मा नस्ल सुधारको लागि स्थानीय तथा जङ्गली जात बिच क्रस गराउन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यसले बँदेल र बङ्गुरलाई क्रस गराई नयाँ जातको विकासका लागि कार्यक्रम सञ्चालन हुने बताउँछ । तर, यसको कार्यविधि नबन्दा अनुसन्धान अघि बढ्न सकेको छैन। कार्यविधि नहुँदा धनकुटामा रहेको देशकै एक मात्र बङ्गुर अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम पाख्रिबास पनि अन्यौलमा छ । कार्यविधि नहुँदा कसरी गर्ने, बँदेल कहाँबाट ल्याउने भन्ने समस्या भएको केन्द्रका प्रमुख डा. मनोज कुमार शाहले बताउनु भयो ।

बँदेल र बङ्गुर क्रस गराउँदा उन्नत जातको छिटो वृद्धि हुने प्रजातिको विकास हुने, मासु उत्पादन बढ्ने, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने तथा कृषकको आम्दानी वृद्धि गर्ने बताइएको छ।

नेपालमै विकास भएको नयाँ जातले व्यावसायिक बङ्गुरपालनमा परिवर्तन गरि मासु उत्पादनमा आत्मनिर्भरता ल्याउने जनाइएको छ । तर, नीति जारी भएपनि कार्यविधि नबन्दा कार्यान्वयन नहुने हो कि भन्ने शङ्का पैदा भएको बङ्गुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुझन राईले बताउनु भयो ।
नेपालमा बँदेलको मासुको माग उच्च भएपनि बँदेल मार्न प्रतिबन्ध छ । जसले गर्दा बँदेलको चोरी सिकारी बढ्दो छ । त्यसैले यो अनुसन्धान हुन सके बँदेलेको चोरी सिकारी घट्नुका साथै कृषकले फाइदा लिने देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्