अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिनेसन अनिवार्य

काठमाडौँ । अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा गुणस्तरीय पानी वितरणका लागि क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गरिने भएको छ ।
खानेपानी मन्त्री माननीय प्रदीप यादवले आज फागुन १५ गते गर्नु भएको निर्णयअनुसार, अबदेखि कुनै पनि खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न पाइने छैन ।
सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजना बनाएकाले अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नुपर्ने मन्त्री यादवले बताउनुभयो । “खानेपानी मात्र पर्याप्त हुँदैन, गुणस्तरीय र सुरक्षित हुनु पनि जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो, र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ,” उहाँले भन्नुभयो ।
नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको र संघ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताउनुभयो ।
मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्यका अनुसार यो निर्णय आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोसेढुङ्गा सावित हुनेछ । “मन्त्री ज्युले अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गर्नु भएको छ । यस निर्णयले आम नागरिकलाई सुरक्षित, शुद्ध, र गुणस्तरीय पिउने पानी सुनिश्चित गर्दै पानीजन्य रोगको जोखिमलाई न्यून गर्नेछ,” उहाँले बताउनुभयो ।
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले शुद्ध खानेपानीको पहुँच बढाउन क्लोरिनेसनलाई एउटा प्रवेश विन्दु भएको र यसलाई एक अभियान तथा कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा सरसफाई सेवा निर्माण र सञ्चालन गरिरहेका सरकारी र गैरसरकारी निकाय सबैले आ–आफ्नो खानेपानी योजनामा क्लोरिनेसन वा यस्तै अन्य शुद्धीकरणको विधि अनिवार्य लागु गर्नु पर्दछ । यसका साथै खानेपानी प्रशोधन प्रणालीका संरचना निर्माणलाई समेत तीव्रता दिनु पर्छ ।”
क्लोरिन डोजिङ युनिट जडानको अनिवार्यता लागू भएसँगै दूषित पानीका कारण हुने रोगहरूको दरमा उल्लेखनीय गिरावट आउने विश्वास गरिएको छ । सरकारको यो निर्णयले सम्पूर्ण देशभरि स्वच्छ, सुरक्षित, र गुणस्तरीय पिउने पानीको सुनिश्चितता गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा ऐतिहासिक योगदान पुर्याउनेछ । नेपाल सरकार सुरक्षित पिउने पानी, स्वस्थ नागरिक अभियानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्