बर्दियाको नेपाल प्राज्ञिक आविलाई जिल्लाको पहिलो तीन तारे विद्यालय घोषणा

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई जिल्लाको पहिलो तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छताका १० सूचकहरू पुरा गरेको हुँदा उक्त विद्यालयलाई तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा पूर्व सिचाई मन्त्री तथा संघीय सांसद सञ्जयकुमार गौतमले तीन तारे विद्यालयको रुपमा घोषणा गर्नु भएको छ । उहाँले विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ अनुसार सम्पुर्ण सूचकहरू पुरा गर्ने विद्यालयको रुपमा बर्दियाको पहिलो विद्यालय भएको बताउनु भएको छ । यसको निरन्तरताको अपेक्षा गर्दै विद्यालयलाई ३ तारे बनाउने सम्पुर्ण निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै यसरी नै जिल्ला भरीका विद्यालयलाई तीन तारे बनाउन तर्फ उन्मुख हुनु पर्ने बताउनु भएको छ ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले दिगो विकास लक्ष्य प्राप्तिका लागि विद्यालयहरूलाई खानेपानी सरसफाईको क्षेत्रमा काम गरिरहेको बताउनु भएको छ । यस विद्यालयलाई पहिलो पटक घोषणा गर्दै अन्य विद्यालयहरूलाई पनि निरन्तर रुपमा घोषणा गर्दै लैजाने बताउनु भएको छ । पालिकाले विद्यालय वास कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयन गरिरहेको जानकारी गराउनु भएको छ ।
विद्यालयले तारा प्राप्त गर्ने मापदण्डहरूमा खानेपानी, शौचालय, स्वच्छ तथा हरियाली वातावरण, स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपन, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जबाफदेहीताका सम्पुर्ण चरण तथा व्यवस्था हुनु पर्ने रहेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमा हुने सरसफाईका काम तथा व्यवस्थापनलाई दिगोपना हुनु पर्ने कुरामा जोड दिनु भएको छ । विद्यालयमा सरसफाईसंगै शैक्षिक गुणस्तर पनि वृद्धि हुनु पर्ने कुरामा जोड दिनु भएको छ । बारबर्दिया नगरपालिका र सहयोगी निकाय यु के एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा विद्यालयमा तीन ताराको विद्यालय घोषणा भएको हो ।
प्रतिक्रिया राख्नुहोस्