बर्दियाको पण्डितपुर बैरियाघाटको झोलुङ्गे पुल सञ्चालनमा, स्थानीय खुसी

बर्दिया । बर्दियाको पण्डितपुर बैरियाघाटमा मल्टीस्पान झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग (सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुर) को लगानीमा श्री थानी निर्माण सेवा प्रा.लि.द्वारा निर्मित उक्त पुल सञ्चालनमा आएपछि यातायात सञ्चालनमा सहज भएको छ ।
पुल निर्माण भएर सञ्चालनमा आएको करिब दुई सातापछि आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । पुलको पूर्व सिँचाई मन्त्री तथा वर्तमान संघीय सांसद सञ्जयकुमार गौतमले उद्घाटन गर्नुभयो ।
यसअघि, स्थानीयवासीलाई बबई नदी पार गर्न डुङ्गाको भर पर्नुपर्दथ्यो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि सदरमुकाम गुलरिया जाँदा आउँदा ढुङ्गा तर्नुपर्ने झन्झट हटेको छ ।
मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरू दिनरात यात्रा गर्न सक्ने भएकाले स्थानीयवासीले सहज महसुस गरेका छन् । बारबर्दिया–४ का स्थानीय खुसीराम चौधरीका अनुसार पुल सञ्चालन भएसँगै दैनिक आवतजावत सरल भएको छ ।
सस्पेन्सन ‘एमएन’ प्रविधिबाट निर्मित उक्त पुल ४१२.९८ मिटर लम्बाइको छ, जसको भारबहन क्षमता १११ टन रहेको छ । पुलमा एकै पटक ८०२ जना पैदलयात्री आवतजावत गर्न सक्छन् । पुल बनेपछि स्थानीय बासिन्दा दैनिकरूपमा यसलाई हेर्न र घुम्न आउने गरेका छन् भने व्यावसायिक सम्भावनाका रूपमा खाजा पसलहरू खुल्न थालेका छन् ।
प्रतिक्रिया राख्नुहोस्