‘विकृति र विसङ्गति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसङ्गतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताउनुभएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, ढवाह शाखा, बुटवलद्वारा आयोजित शिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औँल्याउनुभयो ।
उहाँले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उहाँले साझा गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्