तपाईँ सुन्दै हुनुहुन्छः

‘मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण अनिवार्य’

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाउँघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाईँले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शेरबहादुर कुँवरले बसाइँसराइ रोक्नुपर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्नेदेखि श्रम शक्तिलाई पलायन हुन नदिने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।  

“गाउँघर रित्तिँदै छ । गाउँघर बन्जर हुँदैछ, यस्तै हो भने गाउँघरमा मान्छे होइन जनावर मात्र भेटिने छन्”, सांसद कुँवरले भन्नुभयो, “अब उत्पादनको क्षेत्रमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ । समाधान खोज्न ढिलाइ गर्नुहुँदैन ।”

सांसद सराज अहमद फारुकीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि सामुदायिक पहरेदारीदेखी ड्रोनको प्रयोग गर्न सुझाव दिनुभयो । सांसद अम्मरबहादुर रायमाझीले ठाउँ विशेषको जङ्गली जनावरबाट आतङ्क बढेको चर्चा गर्दै  पहाडतिर दुम्सी र बाँदरको आतङ्कले मानवीय बस्ती विस्थापित भएको बताउनुभयो । 

सांसद अशोक चौधरीले वन विनाश र आवास क्षेत्रको सङ्कुचनले जङ्गली जनावर मानवीय बस्तीतर्फ आउने क्रम बढेको बताउनुभयो । उहाँले मानव वन्यजन्तु द्वन्द्व नीतिगत खाका निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

सांसद विनिता कठायतले जङ्गली जनावरको वासस्थानमाथि मानवीय बस्ती र विकास निर्माणले हस्तक्षेप गरेकातर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले जङ्गली जनावरको आतङ्क रोक्ने नीति बनाउँदै गर्दा जनावरको संरक्षणमा असर पर्न नहुनेतर्फ सचेत गराउनुभयो ।  

सांसद देवप्रसाद तिमलसेनाले हात्ती, बाघ, दुम्सी र निलगाईलाई समावेश गरेर जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि यथाशीघ्र समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो । 

सांसद रुपा सोशी चौधरीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि भारतको अभ्यासबाट सिक्न सकिने बताउनुभयो । उहाँले घुम्ती अस्पताल बनाएर बाँदरको बन्ध्याकरण गर्न सुझाव दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button