तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्ड कप : भुटानको डागा एफसी सेमिफाइनलमा

झापा । पाहुना टोली भुटानको डागा युनाइटेड फुटबल क्लब दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै भुटानको टिमले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अत्यन्तै रोमाञ्चक खेलको ३४ ओै मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको ३६ ओै मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ ओै मिनेटमा एपीएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए । खेलको ६३ओै मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । 

एपीएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे ।  दुई जना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।

खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेल भए । उनले नगद २१ हजारसहित ट्रफि पाए । मङ्गलवार पहिलो सेमिफाइनल खेल आयोजक टिम भद्रपुर ब्लेजर्स र कार्उन बाजार प्रगति संघ बङ्गलादेशबिच हुने भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button