माइती नेपालले भारततर्फ गइरहेका १ सय २ बालबालिकाको उद्धार

जनकपुरधाम । मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील रहेको माईती नेपाल धनुषाले नेपालबाट भारत तर्फ जाँदै गरेको वेलामा १ सय २ जना बालबालिकालाई उद्धार गरेको छ ।
माइती नेपालले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका भएर भारत तर्फ गइरहेको अवस्थामा संस्थाका अनुगमन टोलीले प्रहरीको सहयोगमा उद्धार गरेको संस्थाले जनाएको हो ।
उद्धार गरिएका मध्ये १८ वर्ष मुनिका ५३ जना तथा १८ वर्ष माथिका ४९ जना रहेको माईती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जानकारी दिनु भएको हो । यसै गरि १ सय जनालाई सुरक्षा आवास प्रदान गरेको जनाएको छ । सुरक्षा आवास पाउनेहरूमा ४६ जना १८ वर्ष मुनिका र ५४ जना १८ वर्ष माथिको बालबालिका रहेका छन् ।
यसका साथै एक वर्षको अवधिमा १ सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको छ । माईती नेपालले १ वर्षको अवधिमा नेपालबाट सीमानाका तर्फ जाने ८ हजार ३ सय ८२ बसको चेक जाँच गर्नुका साथै ५ हजार १ सय ९२ मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक सूचना दिइएको जनाएको छ ।
नेपालमा मानव बेचबिखन सम्बन्धमा कडा कानून रहेपनि विभिन्न प्रलोभनमा पारेर दलालहरूले मानव बेचबिखनको कामलाई निरन्तरता दिन छाडेको छैन । मानव किन्ने र बेच्ने कार्यमा संलग्न भएको पाइएको खण्डमा २० वर्ष सम्मको जेल सजायका साथै २ लाख जरिवानाको व्यवस्था रहेको छ । यसका साथै वेश्यावृत्ति गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था कानुनमा रहेको छ । मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरेर ल्याइएकाहरूलाई लक्षित गरेर माइती नेपालले विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
संस्थाले २३ जिल्लामा काम गर्नुका साथै देश भरिमा १८ सुरक्षा आवास गृह, ३ वटा रोकथाम गृह, पुनर्स्थापना केन्द्र, स्नेह गृह, विद्यालय, वाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र देखि आय आर्जनसम्मको काम गर्दै आएको छ । नेपालमा वर्षेनी रुपमा ३५ हजारको सङ्ख्यामा मानव बेचबिखन हुने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या भन्दा बढी हुने अनुमान गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनी, ईन्सेकका मधेश प्रदेशका प्रमुख राजु पासवान तथा शान्ति पुनर्स्थापना केन्द्रका प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि नियमन तथा जनचेतना मूलक कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्