नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ राष्ट्रिय सभामा पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ सम्बन्धी प्रतिवेदन पेश भएको छ ।
राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
यस्तै बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६, र विद्युत् व्यापार विधेयक २०८० टेबुल भएको छ ।
यस्तै आजको बैठकमा सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामा उठेका विषयहरूमा सम्बन्धित मन्त्रालयका मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न,गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यसअघि आजको बैठकको सुरुमा सांसदहरुले सभामा उठाइएका विषयवस्तुहरूको सम्बन्धमा सरकारको जवाफ नआएको भन्दै सभा अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले मुलुकको बिग्रँदो आर्थिक अवस्था सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले आर्थिक, प्रशासनिक पारदर्शितामा देश नकारात्मक सूचीमा परेको भन्दै यसको सुधारका निम्ती सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले समाजमा घट्ने सामाजिक हिंसा, हत्या, बलात्कार जस्ता घटनाको समयमै सत्यतथ्य छानविन गर्न, अन्तर्राष्ट्रिय सहयोगको खर्च पारदर्शिता र बाह्य मुलुकमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारले यथोचित कदम चाल्नुपर्ने लगायतका विषयमा जोड दिनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन १८ गते आइतबार १२:१५ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्