तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर मेयर्स कप : अरोमाको सान्त्वना जित 

चितवन । भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा अरोमा इङ्लिस स्कुलले सान्त्वना जित निकालेको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज लिग चरणको आफ्नो अन्तिम खेलमा अरोमाले प्रेरणा इङ्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै लिगमा सान्त्वना जित निकालेको हो । योसँगै ४ खेलमा ३ मा हार र एकमा जित गरी २ अङ्कका साथ दोस्रो संस्करणको मेयर कपमा आफ्नो यात्रा टुङ्ग्याएको छ ।

अरोमाको जितमा विगनेश थापाले २७, सुवास भट्टराईले २३ रनको योगदान दिए । प्रेरणाका स्पर्श सुवेदी र सचिन कुमार महतोले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रेरणाले १९ ओभरमा ८० रन बनाउँदै अलआउट भयो । उसका लागि राजु कुमार यादवले १६ र अजय ज्ञवालीले १४ रन बनाए । प्रेरणालाई सस्तैमा समेट्न अरोमाका सौरभ क्षेत्रीले ३ र आयुष कोइरालाले २ विकेट लिए । सौरभ प्लेयर अफ दि म्याच घोषित भए ।

समूह ‘बी’मा रहेको अरोमाको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिए पनि प्रेरणाको अझै सम्भावना जीवितै छ । ३ खेलमा २ मा हार र एकमा जित निकालेको प्रेरणाको २ अङ्कको छ । प्रेरणाले आफ्नो अन्तिम खेलमा नारायणी नमुना माविसँग खेल्ने छ । उक्त खेलमा विजयी भए प्रेरणालाई लक्ष्मी मावि र सनराइज इङ्लिस स्कुलको नतिजाले सेमिफाइनल पुग्ने अवस्थाको टुङ्गो लाग्ने छ । नारायणी मावि भने एक खेल अगावै समूह ‘बी’बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरूलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमिफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिइएको हो । लिग चरणका खेलहरू रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाइँदै छ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button