तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर सुदृढीकरण गर्न जरुरी छ’

बाँके । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जन प्रवर्द्धनमा स्थानीय पर्यटन उद्यमीहरूको अवसर सुदृढीकरण गर्न बाँकेको कोहलपुरमा आयोजित कार्यशालामा सहभागीहरूले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिनुभएको छ ।

लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोशीले बाँकेको पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका सबै धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्न सहज वातावरण बनाउने बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरूका अवसर सुदृढीकरणका लागी कार्यशाला गोष्ठीमा बाँके क्षेत्र नं. १ का सांसद एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके जिल्ला पर्यटकीय क्षेत्रको प्रशस्तै सम्भावना बोकेको बताउँदै नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको देश भएको भएकाले धार्मिक स्थल, विभिन्न जातजातिको परम्परा र संस्कृति, खानाको परिकार आदिलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।

बाघ संरक्षणका लागि विस २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको सङ्ख्या २५ रहेको र बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएकोले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउन घाँसे मैदानको क्षेत्रलाई बढाउँदै लगिएको जनाइएको छ । 

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले बाँके निकुञ्ज मार्गमा जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागी सम्बन्धित स्थानीय तहले जीविकोपार्जनसम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकास लगायतका कुराहरूमा जोड दिनुभयो ।

यसैबीच स्थानीय पर्यटन उद्यमीहरूका अवसर सुदृढीकरणका लागी कार्यशाला गोष्ठीले ६ बुँदे घोषणा—पत्र २०८१ सार्वजनिक गरिएको छ । 

कार्यक्रममा जनप्रतिनिधि, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button