अजयमेरुकोट उत्खनन कार्य सुरु,आठ वटा अभिलेख भेटिए
डडेल्धुरा । डडेल्धुराको अजयमेरु कोटको उत्खनन कार्य एकसाता देखि सुरु भइरहेको छ । उत्खनन गर्दा हाल सम्म आठ वटा अभिलेखहरू भेटिएका छन् ।
पुरातत्त्व विभागको टोलीको नेतृत्वमा उत्खनन कार्य भइरहेको हो । अजयमेरुकोटको मुख्य दरबार क्षेत्र उत्खनन् गरि अध्ययन अनुसन्धान गर्दा विभिन्न महत्त्वपूर्ण अभिलेखहरू भेटिने क्रम भइरहेको जनाएको छ ।
अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कला शैलीमा निर्माण गरिएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्वविद भास्कर ज्ञवालीले बताउनुभयो । पहिलो पटक उत्खनन गरी अध्ययन,अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उहाँको भनाई थियो ।
ती अभिलेख अनुसार राजा निर पालको साके १२५० (वि.सं.१४२०) र राजा नाग मल्लको साके १३०६(वि.सं. १४४१) का अभिलेखहरू पाइएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्व विद् ज्ञवालीले बताउनुभयो ।
नागी मल्लको समय १२३८ थियो भने नाग मल्लको समय १३८४ थियो । यो समय करिब डेढ सय वर्षको इतिहासमा फरक छ । त्यस कारण यस क्षेत्रमा पाइएका अभिलेख अनुसार राजा नागी मल्लाका प्रमाणहरू पाइएका छैनन् । निर पाल र नाग मल्लका अभिलेखहरू पाइएका छन् । उत्खननमा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन् । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास स्वरूप पुरातत्त्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उहाँले बताउनुभयो ।
अजयमेरुकोटको स्थापना १३ औँ शताब्दीको उत्तरार्द्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।
हालसम्मको अध्ययनले यो क्षेत्र कत्युर राजवंशको एउटा महत्वपूर्ण पेरीफेरीमा रहेको उनीहरूको एउटा महत्वपूर्ण केन्द्र हो । अजयमेरु कोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताउनुभयो ।
एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरूले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएको छ । रैका राजवंशका नागी मल्लले विसं १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपाल देवका ताम्रपत्र र विसं १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।
अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठक स्थल सहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउला (पानी धारा) मध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तिले प्राचीन वास्तुकला झल्काउँछ । अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।
यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ घोडाको तबेला भन्ने गर्छन् । दरबार स्थलको पूर्व–दक्षिणबाट तल गाड खोला भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् । कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् ।

गाडको केहीमाथि दुईवटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ । अमेरुकोटको स्थापना १३ औँ शताब्दीको उत्तरार्द्ध कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।
प्रतिक्रिया राख्नुहोस्