राजनीतिक स्थायित्वका लागि सत्ता साझेदारी भएको हो : नेता कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न प्रभावकारी काम गरिरहेको बताउनु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले देशमा राजनीतिक स्थिरता, सुशासन तथा आर्थिक विसङ्गतिको अन्त्य गर्नका लागि दुई ठूला दल कांग्रेस–एमाले बीच सत्ता साझेदारी गर्नु परेको बताउनु भएको हो । सरकारले प्रभावकारी रुपमा डेलिभरी दिन सके धेरै हदसम्म आम नागरिकका समस्यालाई सम्बोधन गर्न सकिने बताउँदै उहाँले सत्ता बाहिर रहेकाहरूले सरकारलाई सकारात्मक खबरदारी गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले कांग्रेसको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग सत्ता सहकार्य भएको बताउँदै सत्तामा रहेका मन्त्रीहरूबाहेकले सरकारको निरन्तर खबरदारी गर्नुपर्ने सुझाव दिनु भयो । नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशनका विषयमा विभिन्न चर्चा भइरहेको भन्दै समयमै महाधिवेशन गर्ने वातावरण सुनिश्चित गर्न सबै लाग्नुपर्ने बताउनु भयो । कांग्रेस आजका दिनसम्म एक ढिक्का रहेको भन्दै अब महाधिवेशन समयमा नगर्ने विषयले पार्टीलाई पनि क्षति गर्ने उहाँको भनाइ थियो ।
कोही पनि पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन, फेरि २०८४ को निर्वाचनभन्दा अघि नै महाधिवेशन नगर्ने र नयाँ नेतृत्व चयन नगर्ने हो भने पार्टीलाई थप क्षति हुन सक्नेतर्फ उहाँले सचेत समेत गराउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्