व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु

दमौली (तनहुँ) । यहाँको व्यास नगरपालिकामा विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न आजदेखि तीन दिने सांस्कृतिक महोत्सव सुरु भएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको सांस्कृतिक महोत्सव शुक्रवारसम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएकाले मौलिक संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले विभिन्न जातजातिका कला, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै कला र संस्कृतिलाई आम्दानीसँग जोड्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले नेपालको पहिचान संस्कृति र प्रकृति भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव प्रदीपराज अधिकारीले नगरभित्रका मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सराहनीय रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बाँस्तोलाले भाषा, संस्कृति लोप हुन दिन नहुने उल्लेख गर्नुभयो । पछिल्लो समय कला, संस्कृति लोप हुँदै गएकाले त्यसको संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।
नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्त्विक क्षेत्र लोपोन्मुख भएकाले संरक्षण गर्न महोत्सव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, कला लोपोन्मुख अवस्था पुगेका छन्, यसलाई संरक्षण गर्ने दायित्व नगरपालिका हो ।”
महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकलालगायतको प्रदर्शनी गरिएको छ ।
कार्यक्रममा सहभागी सबै जातीय समूहलाई नगद रु दश हजारका दरले सहयोग प्रदान गरिने जनाइएको छ । झाँकीमा सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया राख्नुहोस्