पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु
पोखरा । पोखरा २२ (पुम्दी—भुम्दी) को पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति परिसरमा आज (बुधबार) देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्रि महिमा सुरु भएको छ ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा बुधबार देखि सुरु भएको उक्त महायज्ञबाट समितिका अधुरा र अपुरा भौतिक संरचना पूरा गर्ने उद्देश्य रहेको समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनुभयो ।

पुम्दीकोट आउने पर्यटकहरूको एक दिनको बसाई अवधि लम्बाउने उद्देश्यले पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको वृत्तचित्र प्रदर्शन गर्ने उद्देश्य रहेको उहाँले जनाउनुभयो ।
यही फागुन १५ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको गण्डकी प्रदेश सभाका सदस्य(सांसद) प्रकाश बरालले उद्घाटन गर्दै पोखरा २२ को बृहत् विकासमा पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजना कोषेढुंगा सावित हुने बताउनुभयो ।
४१ करोडको विशाल महादेव मूर्ति परियोजना अन्तर्गत अझै १० देखि १२ करोडको परियोजनाका काम बाँकी रहेको अध्यक्ष बरालले दाबी गर्नुभयो ।
यस अघि पुम्दीकोटमा २०७३ र २०७९ मा दुई पटक महायज्ञ आयोजना गरिएको थियो भने हाल तेस्रो पटक आयोजना गर्न लागिएको हो । पहिलो महायज्ञबाट करिब ६ करोड रुपैयाँ र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपैयाँ सङ्कलन गरेको समितिले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्