काम गर्नलाई अबको तीन वर्ष पर्याप्त : महामन्त्री थापा
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र समृद्धि हासिल गर्न अबको तीन वर्ष पर्याप्त रहेको बताउनुभएको छ ।

आज पाल्पाको पूर्बखोला गाउँपालिकामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै महामन्त्री थापाले बिपी कोइरालाले प्राप्त गरेको १८ महिनाको सरकार सफल रहेको बताउँदै नेपालकै इतिहासमा सबैभन्दा सफल सरकार २०४८ सालमा गिरिजा प्रसादले नेतृत्व गरेको तीन वर्षको सरकार भएको बताउनुभयो ।
“हामीले मिसन ०८४ भन्छौँ । तर आगामी निर्वाचन आगाडी नै हामीले रिपोर्ट कार्ड लिएर यो यो काम गर्यौँ भनेर जनतामा जानुपर्छ ।” उहाँले भन्नुभयो ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले कांग्रेस तीन वर्षको समय सरकारमा रहने यथेष्ट समय रहेको बताउँदै त्यस अवधिमा सबै काम सरकारले नगर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले सहयोग गरेर सेवाको क्षेत्रमा सरकारले निःशुल्क गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
“पाल्पामा ढाका टोपी बढी उत्पादन भयो भनेर सरकारले ढाका टोपी उद्योग खोल्न थाल्यो भने त्यो उद्योग चल्दैन ।” महामन्त्री थापाले भन्नुभयो । सरकारले यस्ता निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्