तपाईँ सुन्दै हुनुहुन्छः

रत्न श्रेष्ठ पुरस्कार गुठीद्वारा ५ जना पुरस्कृत

बागलुङ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न क्षेत्रका पाँचजना लेखक साहित्यकार लाई पुरस्कार प्रदान गरेको छ । 

रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका चर्चित लेखक तथा वैज्ञानिक महावीर पुनको ‘सम्झना, सपना र अविरल यात्रा’ आत्मकथा लाई नगद ५० हजारसहित पुरस्कृत गरिएको छ ।

२०८१ को रत्न श्रेष्ठ धौलागिरि प्रतिभा पुरस्कार पर्वत जिल्ला फलेवासका लेखक जगन्नाथ शर्मा लम्सालको ‘सहधर्मिणी’ महाकाव्यलाई नगद १५ हजारसहित पुरस्कृत गरिएको छ । त्यस्तै रत्न श्रेष्ठ पुरस्कार गुठीको संरक्षणमा सञ्चालित यस वर्षको जगतचन्द्र पुरस्कार पाल्पाका चर्चित हास्यव्यङ्ग्य कलाकार चोलेश्वर शर्माद्वारा लिखित ‘सगरमाथा एक पहाडको नाम होइन’ निबन्ध सङ्ग्रहका लागि प्रदान गरिएको  छ । 

त्यसैगरी गुरु गणेश विष्णु स्मृति पुरस्कार पर्वतको कुस्मा नगरपालिका ११ निवासी कुडुले संस्कृत वेद विद्याश्रम कक्षा १० मा अध्ययनरत छात्र रामकृष्ण सुवेदीलाई प्रदान गरिएको थियो । 

गुरु गणेश विष्णु स्मृति पुरस्कार बागलुङ बजार महेन्द्र पथ निवासी चन्द्रकुमारी श्रेष्ठ र भरत कुमार श्रेष्ठले गुठीकै संरक्षणबाट सञ्चालित हुने गरी स्थापना गर्नुभएको थियो । कार्यक्रममा चन्द्रकुमारी श्रेष्ठले मानव सेवा आश्रम सञ्चालनका लागि नगद रु ५० हजार सहयोग स्वरूप आश्रमका अध्यक्ष निर्मल बहादुर श्रेष्ठलाई हस्तान्तरण समेत गर्नुभएको थियो ।

रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारको राशि नगद ५० हजार छ भने अन्य पुरस्कारको राशि नगद २५ र १५ हजार रहेको  छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले आफ्ना दिवङ्गत माता रत्नकुमारी श्रेष्ठको स्मृति र सम्मानमा २०३४ सालमा स्थापना गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button