राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

बर्दिया । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल सहितको सरकार बनेको बताउनुभएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको प्रशासनिक भवन र बिष्णु धनी बहुप्राविधिक शिक्षालयको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले संघीय ऐनहरू पर्याप्त मात्रामा बन्न नसकेकाले तीन तहका सरकार सञ्चालनमा कठिनाइ भइरहेकाले आवश्यक ऐनहरु छिटो ल्याउने गरी वर्तमान सरकार लागिरहेको बताउनुभयो ।
उहाँले अहिलेको सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको उल्लेख गर्नुहुँदै हरेक क्षेत्रका काम कारबाहीलाई तीव्रता दिन तीनै तहका सरकार समन्वय गरी अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा संघीय सांसद, प्रदेश सांसद, पूर्व मन्त्री, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
बारबर्दिया नगरपालिकाको प्रशासनिक भवन निर्माणले त्यस क्षेत्रका जनतालाई पालिकाको सेवा सहज रुपमा लिन सहजता प्रदान हुने विश्वास गरिएको छ भने त्यो स्थापित बिष्णु धनी बहुप्राविधिक शिक्षालयको स्थापनाले प्राविधिक जनशक्तिहरू स्थानीयस्तरमा नै उत्पादन हुने र युवा स्वरोजगारी बढ्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्