ओडिसा घटनाको छानविन भइरहेको छ: उपप्रधान मन्त्री सिंह
गुलरिया(बर्दिया) । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको बारेमा छानविन भइरहेको बताउनु भएको छ । घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र नेपाल सरकारले एक्सन लिने उहाँले बताउनुभयो ।

बर्दियाको गुलरियामा राधाकृष्ण मन्दिर पथ सडकको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । सडकको उद्घाटन पश्चात् पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले भारतको ओडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको बारेमा छानविन भइरहेको र रिपोर्ट आएपछि के भएको रहेछ त्यो अनुसार सरकार एक्सनमा जाने उहाँले बताउनु भयो । उहाँले घटनाको बारेमा अध्ययन गर्नका लागि दिल्ली स्थित नेपाली राजदूतावासबाट दुई जना अफिसर खटाइएको बताउनु भयो ।
नेपाल सरकार र गुलरिया नगरपालिकाको ६ करोडको लागत साझेदारीमा राधाकृष्ण मन्दिर सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो । गुलरियाको गणेशमान चोक देखि कृषि विकास बैङ्क चोक सम्म नाली सहित चार लेनको करिब एक किलोमिटर निर्माण भएको छ । हुलाकी सडकको आसपासमा मात्र सीमित भएको गुलरिया बजार यो सडक निर्माण सँगै थप विस्तार भएको छ ।
प्रतिक्रिया राख्नुहोस्