सामाजिक विभेद बिरुद्ध अगुवाको रुपमा काम गर्न अलुम्नाईहरुलाई आग्रह
बाँके। बाँकेको कोहलपुरमा आयोजित अलुम्नाई मिटअपमा सहभागी भएका कक्षा १२ पास गरेका बालिकाहरूले कार्यक्रमले थप उत्प्रेरणा दिएको बताएका छन्। बालिका शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ पास गरेका अलुम्नाईहरूको सहभागितामा सम्पन्न भएको यस मिटअपको उद्देश्य अलुम्नाईहरूको प्रगति बारे जानकारी लिनु, सफलताको कथा र अनुभव साझा गर्नु, र अलुम्नाईसँगको सम्बन्धलाई सुदृढ बनाउनु थियो।
रुम टु रिडको आर्थिक र प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजित उक्त कार्यक्रमले बालिका शिक्षा र सामाजिक सुधारको क्षेत्रमा ठूलो भूमिका खेल्ने आशा व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै रुम टु रिडका फिल्ड कार्यक्रम प्रबन्धक दिनेश पाख्रेलले अलुम्नाईहरूको अनुभव सुनेर रुम टु रिडको उद्देश्य सफल भएको महसुस भएको बताउँदै, जागरुकताले परिवर्तन ल्याउने र सबै जागरुक अलुम्नाईलाई सामाजिक विभेदको विरुद्ध अगुवा बनेर काम गर्न अनुरोध गरे। उनले भनें, “यदि हरेक बालिका आफ्ना निर्णय गर्न सक्षम हुन्छ भने, सामाजिक विभेद न्यूनीकरण सम्भव हुनेछ।”
कार्यक्रममा बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले, अलुम्नाई बालिकाहरूले सही र गलत छुट्याउन सक्ने क्षमतामा खुशी व्यक्त गर्दै, बालिका शिक्षा कार्यक्रमले उनीहरूमा आत्मविश्वास र सफलता ल्याएको देखेर उत्साहित भएको बताइन्।
कार्यक्रमको सहजिकरण बास नेपालकी सिनियर सामाजिक परिचालक मेघा रानाले गरे। कार्यक्रममा स्वागत र उद्देश्यका बारेमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराए।
अलुम्नाईहरूको अनुभव आदान प्रदान गर्ने क्रममा यशोदा सुनार, कन्चन थारु, अनुजा गुरुगाई, कमला ओझा, संगिता चौधरी, आशा गिरी, पवित्रा थारु, पुजा भण्डारी, आरती राना मगर, बन्दना गुरुंग, आशिका चन्द लगायतले आफ्नो अनुभव साझा गरे।
यस कार्यक्रममा ५१ जना अलुम्नाईको सहभागिता थियो।
प्रतिक्रिया राख्नुहोस्