तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल, बङ्गलादेश र चीनका जलरङ विधाका कला प्रदर्शनी सुरु

काठमाडौँ । काठमाडौँको नक्सालमा आजदेखि नेपाल, बङ्गलादेश र चीन (त्रिदेशीय)का कलाकारले जलरङका माध्यमबाट बनाएका ललितकला प्रदर्शनी सुरु भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा मङ्गलबारदेखि ‘वाटरकलर ओडिसी’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको नेपालका लागि चिनियाँ राजदूत चेन सनले उद्घाटन गर्नुभयो । 

सो क्रममा उहाँले बङ्गलादेश, चीन र नेपाललाई भौगोलिक रूपमा मात्र नभई कला र सांस्कृतिक सम्बन्धले थप नजिक बनाएको बताउनुभयो । उहाँले यस प्रदर्शनीले पारस्परिक सम्बन्ध प्रगाढ बढाउन थप सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रदर्शनीको रुचिपूर्वक अवलोकन गर्दै राजदूत सनले चित्र सिर्जना गर्ने कलाकारले चित्रका बारेमा जानकारी समेत दिनुभएको थियो । कला प्रदर्शनीमा तीनै देशका कलाकारको समेत सहभागिता रहेको छ । 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला विश्व भाषा तथा संस्कृतिबीचको सेतु भएको बताउँदै यसले विश्वलाई एकै मालामा उन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीले तीन देशबीचको संस्कृति आदानप्रदान तथा आपसी भाइचारा अभिवृद्धि गर्न थप टेवा पुर्‍याउने धारणा राख्नुभयो । 

नेपाल पर्यटन बोर्डका निर्देशक नन्दनी थापाले प्रदर्शनीमा दक्षिण एसियाको पुरातात्त्विक सांस्कृतिक सौन्दर्य कलामार्फत झल्केको  बताउनुभयो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका चिफ क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीलाई नेपाल, चीन र बङ्गलादेश त्रिकोणात्मक सम्बन्धलाई एक डाइमन्ड जेमसँग तुलना गर्दै यस्ता प्रदर्शनीले  कुशल जलरङकर्मी जन्माउन सहयोग गर्ने बताउनुभयो । फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा नेपाल बङ्गलादेश र चीनका छ/छ जना कलाकारका ४० कलाकृति राखिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button