तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीकोटमा भोलिदेखि महायज्ञ हुने 

पोखरा । पुम्दीकोटको बृहत् विकास परियोजना अन्तर्गत केही बाँकी भौतिक संरचनाहरू पूरा गर्ने उद्देश्यले पुनः तेस्रो पटक भोलि (बुधबार) देखि महायज्ञ हुने भएको छ । 

पुम्दीकोट आउने पर्यटकहरूको एक दिनको बसाई अवधि लम्बाउने उद्देश्यले पुम्दिकोट कोट विकास समितिको आयोजनामा बुधबार देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्रि महिमा हुने भएको समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनुभयो । 

बुधबार महायज्ञ उद्घाटनको क्रममा पोखरा २२ वडा कार्यालय अर्थात् शुक्रराज माविको गेट अगाडीबाट बृहत् झाँकी सहितको कलश यात्रा हुने भएको उहाँले जनाउनुभयो । र्‍यालीमा पन्चे बाँझा सहित विभिन्न जनजातिको झाकीमा र्‍याली प्रदर्शन सहित कलक यात्रा हुने भएको अध्यक्ष बरालले जनाउनुभयो । 

४१ करोडको विशाल महादेव मूर्ति परियोजना अन्तर्गत अझै १० देखि १२ करोडको परियोजनाका काम बाँकी रहेको अध्यक्ष बरालले दाबी गर्नुभयो । सिसालको पुल राख्ने विषयमा भने नीजि कुनै कम्पनी तथा संस्थाको खोजी भएको समितिले जनाएको छ । 

समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरूका लागि निकास भन्ने मुल नाराका साथ कैलाश धाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको बताउँदै अध्यक्ष बरालले ज्ञान महायज्ञ यही फागुन १५ गतेसम्म सञ्चालन हुने उल्लेख गर्नुभयो । यस अघि पुम्दीकोटमा २०७३ र २०७९ मा दुई पटक महायज्ञ आयोजना गरिएको थियो भने हाल तेस्रो पटक आयोजना गर्न लागिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button