तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रममार्फत सल्यानमा ३४ घर निर्माण हुँदै

सल्यान । सल्यानमा जनता आवास कार्यक्रम मार्फत ३४ घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सिमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ३४ घर निर्माण गरिने भएको हो । 

जिल्लामा लाभग्राही छनोट भई सम्झौताको काम अघि बढाइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । घर निर्माण हुने स्थान, लाभग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम अघि बढाई रहेको पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर महेश कुमार वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा ३, बागचौर नगरपालिकामा ४, कुमाख गाउँपालिका ३, सिद्ध कुमाख गाउँपालिका २, दार्मा गाउँपालिका ३, शारदा नगरपालिकामा ४, कपुरकोट गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकामा ६, छत्रेश्वरी गाउँपालिकामा ४ र कालीमाटी गाउँपालिकामा ३ गरी ३४ आवास निर्माण हुने छन् । 

जनता आवास कार्यक्रम मार्फत जिल्लामा यसअघि एक सय ४५ वटा आवास निर्माण भएका छन् । जसमा आर्थिक वर्ष २०७७/०७८ मा ३० वटा, आर्थिक वर्ष २०७८/०७९ मा ४० वटा र आर्थिक वर्ष २०७९/०८९ मा ३१  र आ.व २०८०/०८१ मा ४४ वटा आवास निर्माण भएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माणका लागि यस वर्ष जिल्लामा एक करोड १९ लाख रुपैयाँ पठाएको छ ।

वलीले प्रतिघर निर्माणका लागि सेवाग्राहीलाई कन्टिजेन्सी काटेर तीन लाख ३६ हजार दिने गरेको बताउनुभयो । कार्यविधि अनुसार घर निर्माणका लागि खाल्डो खनेपछि कार्यालयले २५ प्रतिशत अर्थात् ८४ हजार रकम पहिलो किस्ता बापत दिने गरेको छ । दोस्रो किस्ताबापत डीपीसी (जग ढलान) गरेपछि ३० प्रतिशत, तेस्रो किस्ताबापत घरको गाह्रो लगाएपछि ३५ प्रतिशत दिने कार्यविधिमा उल्लेख छ ।

चौथो किस्ता वापतको रकम भने शौचालयसहित घर सम्पन्न भएपछि १० प्रतिशत रकम भुक्तानी गरिने उहाँको भनाइ छ । पहिले संघीय सरकारले शुरुवात गरेको यो कार्यक्रम अहिले प्रदेश सरकारले सञ्चालन गर्दै आएको छ । 

‘जनता आवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव २०६६/०६७ बाट लागू गरिएको योजना हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button