तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्णालीलाई समस्या होइन सम्भावनाको सरोवर बनाऔँ’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई समस्याको खाल्डो नभई सम्भावनाको सरोवर बनाउनुपर्ने बताउनुभएको छ । 

ऋति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली उत्सव: कुडा कर्नालीका’ छैटौँ संस्करणको उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको विकासका लागि सबै सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । 

“कर्णालीलाई हेर्ने र बुझ्ने दृष्टिकोण जे छ, त्यो सत्य होइन । यहाँका नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिँदा लघुताभास गर्नुपर्ने कुनै कारण छैन बरु कर्णालीको सौन्दर्यताप्रति उच्चताभास गर्नुपर्छ । कर्णाली दुःखको घाउ मात्र होइन, सम्भावनाको मल्हम पनि हो भन्ने विषयलाई हामी सबैले बुझ्न र बुझाउन सक्नुपर्दछ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । 

उहाँले कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली र यो आम नेपालीको गौरवका रूपमा रहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “नेपाली भाषाको उद्गमस्थलका रूपमा जुम्लाको सिञ्जा पहिचान भएकाले नेपाली भाषा, सभ्यता, संस्कृतिका हिसाबले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रुपमा स्वीकारेका छन् । ठूला–ठूला सहरको मानव सभ्यताको विकास नदीसँग जोडिएजस्तै नेपालको पुरानो सभ्यता कर्णाली नदीसँग जोडिएकाले कर्णाली प्रदेश मुलुककै एक अनुपम र सम्भावनाको अवसर बोकेको क्षेत्र हो ।”

उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति)ले ‘मान्ठ र मइडो’सँग सम्बन्धित कर्णालीको मानव सभ्यता, विकास, खस साम्राज्यको इतिहास, मष्टो संस्कृति, जात व्यवस्थाबारे विद्धत प्रवचन दिनुभयो । ‘के पढ्यौँ, के पढायौँ ?’ शीर्षकमाथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा शिलु मानन्धर बज्राचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले आफ्ना धारणा राख्नुभयो । 

यस्तै, कर्णालीको महिला आन्दोलनसँग सम्बन्धित ‘स्वाइनी स्वर’ शीर्षकमाथि धारणा राख्दै पत्रकार दिलमाया शाही, नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेत र अभियन्ता पुना कामी, ‘बैकिनी बोल्लिछन्’ शीर्षकमाथि कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, नेपाल सरकारका सञ्चार सचिव राधिका अर्याल, ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’ शीर्षकमा वासुदेव उपाध्याय, इब्स्याल सञ्ज्याल र नवराज भण्डारीले आफ्नो प्रस्तुति राख्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button