तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा अण्डाको उपभोग्य मिति सहित लेबलिङ्ग शुरु

चितवन । चितवनमा अण्डा तथा क्रेटमै लेबलिङ गर्न शुरू गरिएको छ । इच्छाकामना–७ मा रहेको केडिएस मामा–भान्जा पोल्ट्री फार्मले अण्डाको लेबलिङ गर्न सुरु गरेको हो । कम्पनीका अनुसार अण्डाको क्रेटमा लेबलिङ गर्दा उत्पादन ठाउँ, मूल्य उत्पादन मिति, उपभोग्य मितिलगायत अण्डामा पाइने तत्त्वहरू पनि लेखिएको हुन्छ ।

फार्मका सञ्चालक दीपेन्द्र पाण्डेले लेबलिङ गरेको लेबलिङ्ग गरेर अण्डा हाल काठमाडौँ पठाइरहेको बताए ।  हाल हप्ताको एक गाडी (१६० केस) लेबलिङ गरेको अण्डा काठमाडौँ पठाइरहेको बताउनु भयो ।

अण्डा दिने लेयर्स कुखुरा अधिकांशले केजमा राखेर पालेका हुन्छन् । ‘केजमा पालिएको कुखुराले भन्दा केजबाहिर पालेको कुखुराले दिएको अण्डा स्वादमा फरक हुन्छ’, पाण्डेले भन्नुभयो, ‘हामीले केज बाहिरको अण्डाको लेबलिङ गर्दा केज फ्री अण्डा भनेर पनि लेख्छौँ । अर्थात्, केजबाहिर डुलेर हुर्केको कुखुराले दिएको अण्डालाई केज फ्री अण्डा भनिन्छ ।’ एनिमल नेपालको प्राविधिक सहयोगमा मामा–भान्जा पोल्ट्री फार्मले अण्डाको लेबलिङ गर्न सुरु गरेको हो । 

उहाँले अण्डामै लेबलिङ गर्न सकिने र त्यो मेसिन भारतबाट झिकाउन पहल गरिरहेको बताउनु भयो । उहाँका अनुसार लेबलिङ गर्दा खास अण्डाको लागत पनि बढी पर्दैन ।

चितवनमा केज फ्री अण्डा उत्पादन हुने क्रम बढ्दै गएको एनिमल नेपालका चितवन जिल्ला संयोजक रामचन्द्र आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘साना–ठूला गरी करिब १० पोल्ट्री फार्मले केज फ्री अण्डा उत्पादन गर्न सुरु गरेका छन्, ९० प्रतिशत अण्डा केजकै रहेको छ ।’

आचार्यका अनुसार कुखुराको स्वभाव नै हिँड्ने–डुल्ने हो, केजमा राख्न मिल्ने स्वभावको हुँदैन । उहाँले भन्नुभयो, ‘केज फ्री अण्डा डबल समय नबिग्रने, दुई तिहाइ बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटिन, छ गुणा बढी भिटामिन डी, एक चौथाइ कम कोलेस्ट्रोल हुनेछ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button