तपाईँ सुन्दै हुनुहुन्छः

‘फलाक– भिटामोड सडक निर्माण सरकारको प्राथमिकतामा’

दोलखा । नेपालबाट चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग (करिब दुई सय ५० किलोमिटर) फलाक– भिटामोड सडकलाई प्राथमिकताका साथ सरकारको सहयोग रहने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ । 

आइतबार दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरबाट खराने खोल्सी झर्नाको निर्माणाधीन सडकको अवलोकन गर्न पुग्नुभएका मन्त्री दाहालले रणनीतिक महत्वको फलाक (दोलखाको लामाबगर)– भिटामोड (महोत्तरीको जलेश्वर) सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर २० करोड रकम विनियोजन गरेको बताउनुभयो । 

निर्माणाधीन सडकको स्थलगत अवलोकनमा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, बागमती प्रदेश सांसद भरतबहादुर केसी, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, विगु गाउँपालिका उपप्रमुख देविका थामी, नेपाली कांंग्रेस दोलखाका सभापति बर्मा लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका अध्यक्ष दिनेश बस्नेत, निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी लगायत पुग्नुभएको थियो ।

नेपाल– चीन– भारत जोड्ने करिब दुई सय ५० किलोमिटरको फलाक– भिटामोड सडकको पक्की र कच्ची गरी करिब दुई सय ४७ किलोमिटर सडक निर्माण भइसकेकोले केही पक्की पुल र दुई किलोमिटर सडक निर्माण भएपछि छोटो मार्गबाट नेपाल–भारत–चीन जोडिने सरोकारवालाहरूको भनाई छ । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री पार्वत गुरुङ फलाक– भिटामोड सडक सञ्चालनले दोलखाको मात्र नभई सिङ्गो नेपालकै आर्थिक विकासमा टेवा पुग्ने भएकोले बाँकी सडक निर्माण र नाका खोल्ने कुरामा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button