तपाईँ सुन्दै हुनुहुन्छः

पानीको समस्या हटेपछि स्थानीय खुशी

धनकुटा। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएको क्षेत्र हो दक्षिणी धनकुटा र उत्तरी मोरङको सिमामा रहेको थामडाँडा । 

हिउँदको लागि स्थानीयले बर्खामै पानी जोहो गर्नुपर्ने यो क्षेत्रमा अहिले खानेपानी आयोजना सञ्चालनमा भएपछि स्थानीयले वर्षौँ अघिबाट भोग्दै आएको खानेपानीको चरम समस्याको अन्त्य भएको छ ।

गत वर्षसम्म थामडाँडाका मोहन राईको घर वरिपरि पानी भरिएका दुई र अढाइ लिटरका बोतलले भरिएको हुन्थ्यो । बर्खामा जम्मा गरेर राखिएको सो पानी हिउँदमा खान र गाइवस्तुलाई खुवाउन प्रयोग हुने गरेको थियो । मोहनको मात्रै होइन थामडाँडा, सुर्के र जैतुन पार्क क्षेत्रका करिब एक सय घर वरिपरि पानीको बोतलले भरिएको हुन्थ्यो। गाउँ भन्दा करिब डेढ किलोमिटर तलको मूलबाट एक पटक पानी ओसार्दा करिब ३ घण्टा लाग्ने गरेको थियो । जसले गर्दा एक परिवारको एक जनाको दिनचर्या पानी खोज्नमै बित्ने गरेको थियो । तर, अहिले लिफ्टीङ आयोजनाबाट पानी घर घरमै आउन थालेपछि समस्याको अन्त्य भएको छ । 

धनकुटाको साँगुरीगढी र मोरङको केराबारी गाउँपालिका सिमानामा पर्ने यो क्षेत्रमा खानेपानी डिभिजन कार्यालय सुनसरीले लिफ्टीङ आयोजना सञ्चालन गरेको हो। पाँच बर्ष अघि सुरु भएको आयोजनामा करिब एक करोड रुपैयाँ लगानी भएको छ । डेढ किलोमिटर तलबाट पानी तानेर एक लाख बिस हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर घरघरमा धारा मार्फत वितरण गरिएको छ । सबै उपभोक्तालाई दिन बिराएर पानी वितरण गर्ने गरिएको वितरक रबिन राई बताउनु हुन्छ ।

पाँच बर्ष अघि सुरु भएको आयोजनाले अहिले मूर्तरूप लिएपछि स्थानीयको खानेपानीको समस्या हटेको हो । पानी ल्याउन निक्कै सङ्घर्ष गरेका स्थानीय अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button