तपाईँ सुन्दै हुनुहुन्छः

कर्जनिया र सिंघाई खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन्

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया र सिंघाई खोलाको ठेक्का नलाग्दा त्यहाँबाट नदीजन्य पदार्थको अवैध उत्खनन हुने क्रम बढेको छ । 

खोलाको ठेक्का नलागेको अवस्थामा कर्जनिया र सिंघाई खोलाबाट दिनदहाडै नदीजन्य पदार्थको चोरी तस्करीमा वृद्धि भएको छ भने सम्बन्धित निकायहरू मौन देखिएका छन् ।

पर्सागढी नगरपालिकाले कर्जनिया खोलाको दुई पटकसम्म ठेक्का बोलपत्र आह्वानको सूचना निकाल्यो तर दुवै पटक खोलाको ठेक्का लाग्न सकेन । पहिलोपटक कर्जनिया खोलाको रु ४८ लाख ५१ हजारमा र दोस्रोपटक रकम घटाएर रु २७ लाख ३१ हजारमा बोलपत्र आह्वान गर्दा पनि दुवै समयमा कसैले पनि ठेक्का सकारका लागि टेण्डर भरेनन् ।

एउटा खोलाको ठेक्का लगाउन खोज्दा पनि ठेक्का लाग्न नसक्नुमा ढिलो गरी सूचना निकाल्नु र असार १ गतेदेखि बन्द रहेका खोलामा सुरुदेखि नै चोरी तस्करी हुनु मुख्य कारण रहेको स्थानीयहरू बताउँछन् । कर्जनिया खोलाको ठेक्का लाग्न सकेको छैन भने अर्को खोला सिंघाईको अहिलेसम्म वातावरणीय परीक्षण प्रतिवेदन बनेको छैन ।

दुई वटा खोलाको ठेक्का नलाग्दा नगरपालिकालाई लाखौँको आर्थिक नोक्सानी भइरहेको छ । पालिकाको मुख्य आन्तरिक स्रोतको रूपमा रहेका दुई वटा खोलाको ठेक्का लगाउने कार्यमा नगरपालिका उदासीन रहेको आरोप छ ।

नियमित रूपमा ठेक्का लगाउनुपर्नेमा समयमा गृहकार्य नगरिएको एक थरीको आरोप छ । वार्षिक ८० लाखसम्मको आन्तरिक आम्दानी हुने र त्यसबाट विकास निर्माणको काममा सघाउ पुग्ने भए पनि ठेक्का लगाउने कार्यमा नगरपालिकाले खासै चासो नदेखाउनु उदेकलाग्दो विषय भएको स्थानीयहरू बताउँछन् । 

पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले कर्जनिया खोलाको ठेक्काको लागि नगरपालिकाले दुई पटक सूचना प्रकाशित गरेको तर ठेक्का नलागेको बताउनुहुँदै  खोलाको ठेक्का नलाग्दा आन्तरिक स्रोतमा असर परेको दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button