तपाईँ सुन्दै हुनुहुन्छः

जलन अस्पताल निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न भागमा आगलागीका घटना बढिरहेको र त्यसले मानवीय क्षति भइरहेको भन्दै जलन अस्पताल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

हिजो मात्रै पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आगलागीमा परि घाइते हुनुभएको थियो ।

सांसद चन्द्र भण्डारीले अर्थमन्त्री पौडेल र मेयर आचार्य आगलागीमा परी घाइते भएको, केही दिन अघि काठमाडौँको सानदार मःम हाउसमा आगलागी हुँदा ३ जनाको मृत्यु र केही घाइते भएको विषयमा जानकारी गराउँदै जलन अस्पताल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

बैठकमा सांसदहरु अच्युत मैनाली, विन्दावासिनी कंशाकार लगायतले जलन जहाँ जुनसुकै समयमा हुन सक्ने भन्दै जलन उपचार केन्द्र स्थापना, दक्ष जनशक्ति व्यवस्थापन र स्रोत साधनको उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद धवलसमशेर जबराले अमेरिकाबाट १४ अर्ब बरबरको रकम धर्मान्तरका लागि नेपाल आएको भन्ने विषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरु अब्दुल खाँण र शोभा ज्ञवालीले बर्दियामा बाघले घर आगनमा नै गएर आक्रमण गर्न थालेको विषयमा सरकारका ध्यानाकर्षण गराउँदै बाघ नियन्त्रण वा बस्ती स्थानान्तरण गरी मानवीय क्षति न्यूनीकरण गर्न माग गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपाली नागरिकलाई मानव अधिकार हनन हुने गरी अमानवीय तरिकाबाट फिर्ता पठाउने काम नहोस् भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यदि गैरकानुनी रुपमा त्यहाँ नेपाली बसेका छन् भने उनीहरुलाई सम्मानजनक रुपमा स्वेदश फिर्ता हुने वातावरण बनाउन माग गर्नुभयो ।

बैठकको शुन्य समयमा सांसदहरुले मुलुकको राजनीतिक अवस्था, भ्रष्टाचार न्युनिकरण, विकास, सडक पूर्वाधार निर्माण, सडक दुर्घटना न्युनिकरण, आगलागी नियन्त्रणलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button