तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकार डराउनुपर्दैन : मन्त्री गुरुङ

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकारहरू डराउनुपर्ने अवस्था नरहने बताउनुभएको छ । 

जिरी भ्रमण बर्ष– २०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा देखिएको विकृति अन्त्यको लागि अध्यादेश ल्याएको उल्लेख गर्नुहुँदै यसले क्रियाशील पत्रकारहरूलाई समस्या नहुने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको विषयमा धेरै सुझावहरू आएकाले त्यसको आधारमा परिर्माजनसहित विधेयक पास हुने बताउनुभयो । 

“विधेयकको बारेमा धेरै बहस भएका छन्, धेरै सुझावहरू प्राप्त भएका छन् ।”, मन्त्री गुरुङले भन्नुभयो–, “त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझावका आधारमा परिमार्जन सहित पास गर्छौँ ।”सामाजिक सञ्जालहरूमा देखिएका विकृति अन्त्यको लागि विधेयक आवश्यक रहेको उहाँको भनाई छ । 

मन्त्री गुरुङले मुलुकको आर्थिक विकासका लागि उद्योग, व्यापार, कलकारखाना जस्ता कुरा सरकारले सञ्चालन गर्ने नभइ नीजि क्षेत्रले सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा सरकारको नीतिगत सहयोग रहने बताउनुभयो । 

मन्त्री गुरुङले जिरीको तालले यो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने भएकोले राजनीतिक आग्रह– पूर्वाग्रह त्यागेर सबै दलले एकमतका साथ ताल निर्माणमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले सरकारको तर्फबाट ताल निर्माणमा आवश्यक सहयोग हुने बताउनुभयो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विकास–निर्माणमा राजनीति गर्न नहुने बताउनुभयो । उहाँले साँझा सहमति र सहकार्यको आधारमा विकास–निर्माणका गतिविधि अघि बढ्नुपर्ने पूर्व बताउनुभयो । 

दोलखा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलको सभापतित्वमा सम्पन्न जिरी भ्रमण बर्ष– २०२५ उद्घाटन कार्यक्रममा बागमती प्रदेश सांसद भरतबहादुर केसी, उर्मिला सुनुवार, मेलुुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका कर्मा शेर्पा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सबैको सहमतिमा संविधान संशोधन
यसैबीच शनिवार बिहान नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेपाली काँग्रेसले सहमतिको आधारमा संविधान संशोधनका विषयहरू तय गर्ने र सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । 

एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा उहाँले सरकारले अध्यादेशबाट ल्याएको विधेयकहरू राजनीतिक सहमतिकै आधारमा पास हुने समेत बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button