तपाईँ सुन्दै हुनुहुन्छः

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

मनहरी । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले आफू, आमनागरिक र  समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताउनुभयो । 

“सूचनाको वर्गीकरण हुन्छ, दिने वा नदिने खालका सूचना छुट्याएर गोपनीयता कायम गरी मागकर्तालाई सूचना उपलब्ध गराइनुपर्छ”, उहाँले भन्नुभयो,“सूचना मागको प्रयोजन केका लागि हो, त्यो खुल्नुपर्छ । मागकर्ताले माग गरेका सबै सूचना नपाइने पनि हुन सक्छन् ।”

पछिल्लो समय सूचना माग्ने नाममा भइरहेका गलत नियत र विकृतिलाई निरुपण गर्न आयोग थप सक्रिय रूपमा लागिरहेको आचार्यले बताउनुभयो । “पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ । जिल्लामा बदनाम भएका व्यक्ति अभियन्ताको नाममा सम्मान लिँदै गर्दा विगतमा आयोगप्रति प्रश्न उठेको थियो । अब त्यस्तो  हुँदैन । हामी तीनै जना सञ्चार क्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रोसँग थाहा छ”, उहाँले भन्नुभयो । 

महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button