तपाईँ सुन्दै हुनुहुन्छः

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, तीन जना पक्राउ

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । युवाहरुबीच एक आपसमा विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो । गत माघ २८ गते मध्यराती भएको भए पनि घटनामा घाइते भएका प्रतापुर गाउँपालिका वडा नम्बर ९ खैरेनिका बर्ष ४५ का सन्त बहादुर चौधरीको उपचारको क्रममा बुधबार साँझ बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको र उक्त घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाइते भएका थिए । 

पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button