पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/479685795_1747995586056733_2436442069593051970_n-1024x683.jpg)
पोखरा । गत वर्षको उपविजेता थ्री स्टार क्लबलाई पराजित गर्दै पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको फुटबल मैदानमा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्सले आहा रारा गोल्ड कपको ५ पटकको विजेता थ्री स्टारलाई एकतर्फी ४—० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
ब्ल्याक बुल्सको जितमा शभ्कतत्जोन स्याटोरोभले दुई र अशिलवेक ओरिभजोनोभ र सइदजामोल दवलतजोनोभले एक/एक गोलको योगदान दिनुभयो । स्याटोरोभले खेलको २४ औँ मिनेटमा पहिलो गोल गर्नु भयो भने खेलको ६३ औँ मिनेटमा अर्को गोल थप्नु भएको हो ।
ओरिभजोनोभले खेलको ५८ औँ मिनेटमा र दवलतजोनोभले खेलको ८७ औँ मिनेटमा एक गोल गरी गोल अन्तर फराकिलो पार्नु भएको हो । पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन भने विदेशी खेलाडीसँग थ्री स्टार बिहीबारको खेलमा निकै कमजोर खेल प्रदर्शन गर्यो । आजको खेलमा ब्ल्याक बुल्सका अशिलवेक म्यान अफ दी म्याच समेत घोषित हुनु भयो ।
आहा रारामा राम्रो छवि बनाएको थ्री स्टारले आहा रारा पोखरा गोल्ड कपमा पहिलो पटक सहभागी भएको उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले नयाँ इतिहास रच्ने भएको छ ।
यसैबिच, उपाधिको लागि ब्ल्याक बुल्सले शनिबार नेपालको विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
पुलिसले चर्च ब्वाईज यूनाइटेडलाई बुधवारको पहिलो सेमिफाइनल खेलमा १—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्