विश्व रेडियो दिवस: डिजिटल युगमा पनि रेडियोको साख अझै विश्वसनीय बनाउन आवश्यक छ
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/RADIO-1024x683.jpg)
काठमाडौँ । आज विश्व समुदायले रेडियो दिवस मनाउँदै छ । रेडियो दिवस मनाउन थालेको १४ बर्ष हुँदैछ । सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व रेडियो दिवस हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। इटालीका गुग्लिल्मो मार्कोनीले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाएका थिए र त्यसको एक वर्षपछि सन १८९६ मा रेडियो तरङ्गको परिक्षण कार्य सफल रूपले सम्पन्न भएको थियो । रेडियोलाई सामान्य बुझ्दा बेतार वा ताररहित यन्त्रको रुपमा चिन्दछौ ।
अक्सफोर्ड भाषामा रेडियोलाई the transmission and reception of electromagnetic waves of radio frequency, especially those carrying sound messages. “cellular phones are linked by radio rather than wires” भनेर परिभाषित गरेको छ ।
पहिलो पटक सन् १९१९ को अक्टोबरमा अमेरिकामा रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा KDKA नामक रेडियो प्रसारण संस्था अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० को नोभेम्बर २ मा स्थापना भएको मानिन्छ। नेपालमा भने रेडियो प्रसारणको सुरुवात बिक्रम सम्बत २००३ सालमा भएता पनि यस्को बिधिवत प्रसारण बिक्रम सम्बत २००७ साल चैत्र २० गते ९ ( 2 April 1951) भएको हो ।
नेपालमा रेडियो प्रसारण अझ भनौँ विद्युतीय सञ्चार माध्यमको जननी संस्था रेडियो नेपाल हो । त्यसताका रेडियो नेपालबाट ‘यो प्रजातन्त्र रेडियो हो’ भनी उद्घोषण गर्ने व्यक्ति तारणी प्रसाद कोइराला हुन । विश्व बजारमा रेडियोसँग प्रतिस्पर्धा गर्ने विभिन्न डिजिटल सञ्चार माध्यमको बिकास हुँदै गर्दा रेडियो माध्यमलाई थप चुनौती थपिएता पनि रेडियोलाई सबैभन्दा प्रभावकारी, छरितो र सुलभ सञ्चार माध्यमका रुपमा अझै पनि लिइन्छ ।
यस्को अर्थ श्रोताको रोजाइको प्रमुख सञ्चार माध्यम रेडियोलाई लिने गरिन्छ । रेडियो नै सञ्चार जगतको अग्रणी विद्युतीय सञ्चार माध्यम हो । समाज रूपान्तरणमा रेडियोले खेल्दै गरेको भूमिका र हरेक भाषा, कला, साहित्य र संस्कृतिको उत्थानमा रेडियो सञ्चारले पुर्याएको योगदान अतुलनीय छ र यस्को जगबाट आज विश्व सञ्चार बजारले डिजिटल प्लेटफार्म भेटाएको छ ।
यसरी आजको दिन विश्व रेडियो दिवस मनाइरहँदा नेपालको परिप्रेक्ष्यमा हरेक बर्ष चैत्र २० गते रेडियो नेपालले मनाउने रेडियो नेपालको स्थापना दिवस नै मुलुकले मनाउने रेडियो दिवस भन्दा फरक नपर्ला कि । जसको जग र प्रेरणाबाट आज मुलुकमा हजार भन्दा बढी निजी, सामुदायिक र व्यावसायिक रेडियो स्टेसनले आफ्नो सेवा प्रवाह गरेका छन् ।
आज विश्व रेडियो दिवस मनाउँदै गर्दा रेडियो प्रसारक, कार्यक्रम उत्पादक र यस कार्यसँग जोडिएका संस्थाले जन अपेक्षित कार्यक्रम, गीत सङ्गीत, भरपर्दो सामग्री श्रोत , विश्वसनीयता, तटस्थता तथा सन्तुलित विषय सामग्रीमा केन्द्रित भई कार्यक्रम, समाचार र सूचना सम्प्रेषण र प्रसारण गर्ने कार्यमा रेडियो जनशक्ति र सञ्चारकर्मी लाग्न सक्यौ भने रेडियो प्रतिको साख र विश्वसनीयता युग युग सम्म गुञ्जायमान हुने थियो । आजको दिनले यही सदिक्षा प्रदान गरोस् ।
विश्व रेडियो दिवसको उपलक्ष्यमा सबै सबैमा हार्दिक हार्दिक शुभकामना ।
प्रतिक्रिया राख्नुहोस्