तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री डा अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य सहायक मन्त्री डा.रामचन्द्र अधिकारीद्वारा लिखित ‘मेरो जीवन यात्रा’ विमोचन गरिएको छ ।

जीवनका भोगाइलाई समेटेर लेख्नुभएको पुस्तक उहाँको सहस्र १००८ पूर्ण चन्द्रदर्शन (चौरासी पुजा)का अवसरमा आज कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभयो ।

सभापति देउवाले राजनीतिमार्फत समाजसेवाको क्षेत्रमा डा अधिकारीले पु(याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्र स्थापनाका लागि डा अधिकारीले गर्नुभएको सङ्घर्ष अनुकरणीय रहेको बताउनुभयो ।

“हामी प्रजातन्त्र र लोकतन्त्रका लागि सँगसँगै राजनीतिमा लागेका हौँ, ८४ वर्षे उहाँको जीवन दोस्रो पुस्ताको लागि मार्गदर्शन बन्न सक्छ,” उहाँले भन्नुभयो । डा अधिकारीले चाल्नुभएको हरेक अभियान सफल भएको सभापति देउवाको भनाई थियो ।

पुस्तकका लेखक डा अधिकारीले आफ्नो महत्त्वपूर्ण जीवन राजनीति र समाजसेवामा व्यतीत गरेको बताउनुभयो । उहाँले आफ्नो जीवनकथा दोस्रो पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गर्नुभयो । पुस्तकबारे साहित्यकार विजयराज न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।    

 नेपाली कांग्रेस लमजुङको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापति हुनुभएका डा अधिकारी विसं २०४८ र २०५१ को आम निर्वाचनमा लमजुङ क्षेत्र नं १ बाट निर्वाचित भई स्वास्थ्य सहायक मन्त्री बन्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button