झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/kisori.jpg)
भद्रपुर, झापा । झापाका करिब ४७ हजार किशोरीले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाएका छन् ।
५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीले एचपीभी खोप लगाएको जिला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो लक्ष्यको ८५.४३ प्रतिशत हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ७५४ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४४ हजार २१५ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो । विद्यालयमा अध्ययनरत ९४.०९ प्रतिशतले खोप लगाउँदा विद्यालयबाहिरका ३२.०८ प्रतिशतले मात्र खोप लगाएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विद्यालयबाहिर रहेका ८ हजार ४०५ जनालाई खोप लगाउने लक्ष्य थियो । तर, २ हजार ७५४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
यही माघ २२ गते विश्व क्यान्सर दिवसका दिन सुरु भएको खोप अभियान माघ २९ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्