ऊर्जा मन्त्री खड्का र भारतका विद्युत् मन्त्री खट्टरबीच भेटवार्ता
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG-1-9-1024x681.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
ऊर्जा मन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँ दिल्लीमा भारतका विद्युत् मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णतया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारूपमा सहमति गर्नुभएको थियो । उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिव स्तरीय बैठक बसेर प्रारूपबारे सहमति भएकोमा भारतीय विद्युत् मन्त्रीलाई ऊर्जा मन्त्री खड्काले धन्यवाद दिनुभयो ।
गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई उहाँले धन्यवाद दिनुभयो । मन्त्री खड्काले नेपालले सुक्खा यामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म)मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेकाले २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गर्नुभयो ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जा मन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराउनुभयो ।
ऊर्जा मन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत् मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभए पनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको जनाइएको छ । भेटमा भारतका विद्युत् मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैँ भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताउनुभएको थियो । भारतका विद्युत् मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
भारतीय तर्फबाट विद्युत् मन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्