तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघा चौर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघा चौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्षको वार्से व्लकमा पर्ने रुघा चौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको रुघा चौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो । 

यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । 

विशाल फाँट रहेको रुघा चौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाई भैँसी र भेडा बाख्राको गोठ लैजान्छन् । अन्य समय रुघा चौर सुनसान हुन्छ । 

“परापूर्व कालमा गोठालाहरूले ढोरपाटन–रुघा चौर–गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघा चौरसम्म पदमार्ग पनि बनाएका छौ,” उहाँले भन्नुभयो “ढोरपाटन आउने पर्यटकलाई रुघा चौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारको साथ खोजेका छौ ।”

रुघा चौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान पनि भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । गुर्जा देखि चार घण्टा पैदल यात्रा गरेपछि रुघा चौर पुगिन्छ । रुघा चौरमा होटेल र रेस्टुरेन्ट छैन । खानेपानीको अभाव छ । 

गुर्जा देखि रुघा चौर गुर्जा घाट हुँदै ढोरपाटन घुमेर फर्किएका धवलागिरि गाउँपालिका–७ धारा पानीका आस्विन खत्रीले रुघा चौर प्राकृतिक सौन्दर्यको खानी भएको बताउनुभयो । आँखै अगाडी देखिने हिमाल, खर्कहरूमा भेटिने वन्यजन्तु, पंक्षीहरु अवलोकन गर्न पाउँदा दङ्ग परेको उहाँले बताउनुभयो । 

रुघा चौरमा अस्थायी भए पनि खाने बस्ने सुविधा र पदमार्गमा चिन्ह बनाउनुपर्ने खत्रीले बताउनुभयो । रुघा चौरलाई ‘भर्जिन’ गन्तव्य बनाउन सकिने सम्भावना छ । रुघा चौरलाई  ढोरपाटनको सहायक गन्तव्यको रूपमा विकास गर्नुपर्ने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । 

गुर्जाको दोप्ताखोलादेखि रुघा चौरको उकालो खण्डमा रु १५ लाख बजेटबाट तीन किलोमिटर छ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उहाँले बताउनुभयो । यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जा घाट एकै दिनमा पुग्न सकिन्छ । हिमाल अवलोकन, झरना, ताल तलैया, लालीगुराँसको जङ्गल, वन पैदावार र वन्यजन्तु यो पदमार्गको आकर्षण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button