बाँझो जमिनमा व्यावसायिक ओखर खेती
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौँदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखर खेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो । ‘‘करिब २ हजार २ सय मिटरको उचाइमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरूलाई समेटेर कागतेखर्क बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ, उहाँले भन्नुभयो, ‘‘सोही समूहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’’
मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याई किसानलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई चारवटा ‘प्लट’ बनाएर बेर्ना लगाउन थालिएको उहाँको भनाई छ । किसानहरूलाई वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरुले रोप्न सुरु गरिसकेका छन् । अहिले लगाइएको बिरुवाले करिब चार बर्सपछि उत्पादन दिन सुरु गर्ने उहाँले बताउनुभयो । ‘‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो, उहाँले भन्नुभयो, ‘‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखर खेतीका लागि सुहाउँदो भएकाले यसबर्षदेखि ओखर खेतीको थालनी गरिएको हो ।’’ओखरका बिरुवा खरिदका लागि रु १० लाख र ढुवानीका लागि मात्रै एकलाख रुपैयाँ भन्दाबढी खर्च भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्