तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ: राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दवाव वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुक्ने छैन र झुक्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताउनुभयो ।

सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको उल्लेख गर्नुहुँदै यसमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासम्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धिको आम नागरिकको चाहनालाई सुशासन र पारदर्शिता विना जनताको घरदैलोमा पुर्‍याउन नसकिने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने पनि बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले आयोगको स्मारिका २०८१ को लोकार्पण गर्नुसँगै अख्तियारका उत्कृष्ट कर्मचारीलाई पुरस्कार पनि वितरण गर्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोग आफ्नो दायित्वको पूर्ण परिपालन गर्न लाग्दै आएको र आयोगको कामलाई प्रभावकारी सबैको हातेमालोको आवश्यकता रहको बताउनुभयो ।
प्रमुख आयुक्त राईले सानो ठूलो नभनीकन आयोगले गम्भीर खालका आरोपहरूको विशेष रुपमा अनुसन्धान र अभियोजनको काम गर्दै आएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधानमन्त्री , उपसभामुख लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button