शैलुङमा रहेको भीमसेन तरवार शिलाको पूजा

दोलखा । शनिवार भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पूजा गरिएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर–८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पूजा कार्यक्रममा काठमाडौँबाट गुरुबा बाबुरत्न बज्राचार्य, तलेजु माताका पुजारी आचाजु उद्धव बज्राचार्य, भैरवसँग सम्बन्धित अरुण शाक्य, इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य, गुरुआमा दिलकेश शाक्य, श्वेत भैरव पुजारी प्रकाश ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव विनोद सिंह, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवाकोटी, पूर्व सचिव देवेन्द्र सिटौला, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की, वडा नम्बर–८ का वडा अध्यक्ष धन बहादुर तामाङ, पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेती, पुराना राजनीतिज्ञ शुन्दरप्रकाश खड्का, समाजसेवी कुमार कार्की, प्रविणप्रसाद थपलिया, नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरवार त्यही छोडिएको हो ।
धार्मिक एवम् सांस्कृतिक महत्वको ऐतिहासिक भीमसेन तरवार शिलालाई भीमा एकादशी पर्वको अवसरमा गुरुबा, आचार्यहरू बाट भव्य पूजा सहित व्यवस्थित गरिएको एसएस फाउण्डेशनका संरक्षक, समाजसेवी स्थानीय शोभित उप्रेतीले बताउनुभयो ।
शैलुङ गाउँपालिका वडा नम्बर– ८ को आयोजनामा भएको भीमसेन तरवार शिला पूजाको लागि शैलुङ गाउँपालिका, समाजसेवी शोभित उप्रेती लगायतको सहयोग रहेको वडा अध्यक्ष धन बहादुर तामाङले बताउनुभयो ।

तीन हजार एक सय ४८ मिटरको उँचाइमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाउँमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् ।
शैलुङमा हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुर मगरले बताउनुु भयो । महादेव मन्दिरसँगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् । भनिन्छ, धर्मात्माहरू ले सजिलै धर्मढोका पार गर्न सक्छन् तर पापीले त्यो शौभाग्य पाउन सक्दैनन् ।

महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङ्मायाको किंवदन्ती सुनाउँदै स्थानीय ज्येष्ठजनहरू भन्छन्– गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली शृङ्खलाका साथै तिब्बतका बोत (झाँक्री) धर्म गुरुहरूलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । यो क्रममा धर्मचक्र राजाकी छोरीसँग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरू समेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउँदा मानेश्वर ल्हो (माने) शैलुङ बसेका थिए । त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि मानिन्छ– शैलङु गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलालले बताउनुभयो ।
गौरीशङ्कर हिमशृङ्खला लगायत थुप्रै हिमशृङ्खलाहरू देखिने शैलुङमा गाउँपालिकाको पहलमा निर्माण भएको मिनि ग्रेटवाल समेत आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय विशेषगरी शुक्रवार र शनिवार हजारौँ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्